चितवन । पशुपन्छी किनबेचमा किसानलाई सहजता र सुविधा दिन चितवनको रत्ननगमा पशुपन्छी हाटबजार हस्तान्तरण तथा उद्धघाटन गरिएको छ ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा उमेश दाहालले रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटालाई पशुपन्छी हाटबजार हस्तान्तरण गर्नुभएको हो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको लगानिमा ३ करोड २१ लाख ९५ हजार ५ सय रुपैयाँको लागतमा रत्ननगर नगरपालिका वडा नं ९ खगेरी खोला नजिकै व्यवस्थित पशुपन्छी हाटबजार सञ्चालनमा आएको छ ।
तीन बिघा क्षेत्रफलमा बनेको पशुपन्छी हाटबजारमा भैंसी, गाई, बाख्रा लगायतका पशुको किनबेच हुनेछ । यसअघि बर्दियाको ९गुलरिया०, मोरङको ९रंगेली०, रुपन्देहीको ९सियारी० र त्यसपछि रत्ननगर ९ मा पशुपन्छी हाटबजार सञ्चालनमा आएको छ । पशु बेच्न टाढाबाट आएका किसानलाई बास बस्न, रगत, गोबर चेकजाँच गर्ने पशुचिकित्सक प्रयोगशाला तथा डिस्पेन्सरी, पानीखाने डुड, बजार व्यवस्थापक र सञ्चालक समिति कक्षका लागि २ तले किसान भवन बनाइएको छ । यस्तै चमेनागृह, शौचालय, पशुलाई राख्न होल्डिङ यार्ड (टहरो) लगायतका संरचनाहरु बनेका छन् ।
हाट बजारमा किसानले विभिन्न स्थानबाट ल्याएका पशुको पशु चिकित्सकबाट स्वास्थ्य चेकजाँच गरी स्वस्थताको प्रमाणपत्र दिएर मात्र बिक्री गर्न पाइने छ । बिक्रि गर्न ल्याईएका पशुपन्छीको तौल हेरेर रु १० देखि रु १०० सम्म शुल्क बिक्रेताबाट लिईने रत्ननगरका पशु शाखा प्रमुख शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
शंका लागेका पशुको रगत र गोबर परीक्षण गरी रोगी देखिएमा बिक्री गर्न नपाइने उहाँले बताउनुभयो । पशु हाटबजार सञ्चालनका लागि कार्यपालिका सदस्यको संयोजकत्वमा मुल सञ्चालक समिति बनाइएको पौडेलको भनाईछ ।
पशुपन्छी हाटबजारको मंगलवार रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रलाद सापकोटाले उद्घाटन गर्नुभयो । हाटबजार उद्घाटन गर्दै नगर प्रमुख सापकोटाले हाटबजार सञ्चालनमा आएसंगै पशुपन्छी खरिद बित्रिमा बिचौलियाको अन्त्य हुने बताउनुभयो ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा। उमेश दाहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा रत्ननगर नगरपालिकाका उप प्रमुख यादव पाठक, आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारी, आर्थिक विकास समितिका सदस्य हेमराज थापा, जिल्ला समन्वय समिति चितवनकी सदस्य सविता चौधरी लगाएतको उपस्थिती रहेको थियो ।

