हेटौंडा । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उन्नत गाई आयातमा ढुवानी गर्नका लागि प्रति गाई एक लाख रुपैयाँ अनुदान दिने भएको छ । मन्त्रालयले चालु आर्थिक वर्षमा बिदेशबाट हवाइ मार्ग मार्फत गाई ढुवानी गर्नका लागि अनुदान रकम दिने भएको हो ।
बिदेशबाट गाइ ढुवानी गरेर ल्याउँदा एउटा गाइ बराबर एक लाख रुपैयाँ अनुदान दिइने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता झलकनाथ कडेलले जानकारी दिनुभयो । कुन देशबाट उन्नत जातको गाइ ढुवानीमा अनुदान रकम दिने भनेर स्पष्ट रुपमा मन्त्रालयले नखुलाए पनि चिनबाट गाई ल्याने किसानहरु उत्साहित भएका छन् ।
प्रदेशको मन्त्रालयले ‘उन्नत गाई आयातमा ढुनानी अनुदान कार्यक्रम सञ्चालन प्रक्रिया–२०७९’ कार्यबिधी स्वीकृत गर्दै अनुदानमा गाई ल्याउनका लागि सहज बनाएको हो । गाइ पालन गर्ने किसानले उन्नत जातका गाइ बिदेशबाट ल्याउँदा यो कार्यबिधी पुरा गरेमा सहज रुपमा ल्याउन सक्ने मन्त्रालयले जनाएको छ ।


