शोभा पुडासैनी / चितवन । चितवनमा फूल खेतीमा किसानहरुको अकर्षण बढ्दै गएको छ । भरतपुर महानगरपालिका मेघौलीका किसान दिपक पाख्रीनले फूल खती गर्न थालेको ३८ बर्ष पुग्यो । दिव्यनगरमा चार विघाहा क्षेत्रमा फुल खेती गर्नुभएको पाख्रीनलाई अहिले बजारमा माग अनुसारको फूल पुर्याउन सकस छ । बजारमा फूलको माग धेरै भएको तर उत्पादनले नपुगेको बताउनुभयो ।
पाख्रिनले तिहारको समयमा भारतीय फूल प्रयोग नगर्न आग्रह गर्नुभएको छ । यो समयमा आयात हुने भारतीय फूल गुणस्तरहिन हुने बताउँदै उहाँले तिहार र अरु समयमा भारतबाट आउने फूलको गुणस्तर एउटै नहुने जानकारी दिनुभयो । पाख्रीन एग्रो फ्लोरा फर्म मार्फत फूल खेती गर्दै आउनुभएका पाख्रीन अहिले सयपत्री फूल उत्पादन गर्नुभएको छ । पाँच जातका सयपत्री फूल उहाँले उत्पादन गर्नुभएको छ । ७ जना कर्मचारीले उहाँको फूल खेतीमा नियमित काम गर्छन । सिजनमा ज्यालामा काम गर्नेको संख्या अझै धेरै हुनेगरेको उहाँले बताउनुभयो ।
विदेशमा गएर दुःख गर्नुभन्दा नेपालमै फूल खेती गर्न सके धेरै राम्रो सम्भावना रहेको उहाँले बताउनुभयो । फूलको बजार राम्रो रहेको र खेती गर्न पनि सहज भएकोले नेपाली यूवाहरुले फूल खेतीमा लाग्न सके राम्रो हुने उहाँले बताउनुभयो । फूल उत्पादन गर्न सके १२ महिनानै बजारको समस्या नभएको उहाँले बताउनुभयो । चितवनमा उत्पादन हुने फूलहरु मकवानपुर, काठमाडौं, पोखरा, दाङलगायतका जिल्लामा पनि आयात हुन्छ । तर तिहारको समयमा चितवनमा उत्पादन हुने फूल यही खपत हुने गरेको छ ।
भारतवाट आउने फूलले नेपाली फूलको बजारमा असर परेको उहाँले बताउनुभयो । नेपाली फूलको सिजनमा भारतिय फूल बजारमा आउँदा फूल खेती गर्ने कृषकहरुलाई समस्या परेको उहाँले जानकारी दिनुभयो । चितवनमा फूल खेती गर्ने किसानलाई सरकारले सहयोग नगरेको गुनासो उहाँको छ । सरकारले फूल खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरे यसप्रतिको आकर्षण अझै बढ्ने उहाँले बताउनुभयो ।
व्यवसायिक फूल खेती गर्ने नेपालकै पुराना किसान पाख्रिन देशभरका किसानहरुलाई प्राविधिक सल्लाह सुझाव दिदै आउनुभएको छ । चितवनमा ५० विघामा व्यवसायीक फूलखेती हुदै आएको छ । तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूल स्थानीयकै अग्रसरतामा व्यवसायीक रुपमा खेती हुन क्रम बढेको छ ।

