कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन्।
“लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उनले भने, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी परिवारका लागि खानका लागि चाहिने धानबाली भित्र्याउनमै ध्येय रहेको उनले बताए । उनले भने, “निर्वाचनका बेला उम्मेदवार गहकिला प्रतिबद्धता ल्याएर आउछन, चुनाव जितेर गएका किसानको अवस्था सोध्नका लागि पुग्दैनन्, किसानले समयमै रासायनिक मल, बीउ पाउदैनन् ।”
धानबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार धान काटनमै व्यस्त रहेको उनले बताए । गत वर्ष धानबालीमा निकै नोक्सानी भयो, थोरै मात्र क्षतिपूर्ति पाइयो, यस वर्ष पनि गत वर्ष झैँ नोक्सान भएको किसान तुलसीराम चौधरीले बताए । “धानबालीमा ठूलो क्षति भए पनि बीउ खरिदका लागि पुग्ने रकम क्षतिपूर्तिका रुपमा पाएनौँ, धानबालीमा ठूलो क्षति व्यहोरेका किसानले एक हजार, दुई हजारमात्रै क्षतिपूर्ति पायौँ, किसानको हित नसोच्ने उम्मेदवारलाई मत हाल्दैनौँ”, उनले भने ।
“किसानका लागि मल, बीउ, सिँचाइ, तालिम, सहुलियत दरमा कृषि औजार उपकरण उपलब्ध गराउने उम्मेदवार रोजाइमा रहेका छन्”, कृष्णपुर नगरपालिका–२ बाणीका किसान शोभा खुनाले भने, “ काम गर्नेलाई मात्रै मत हाल्छौँ ।” प्रतिनिधिसभा र प्रदेशसभामा पुगेर दरोरुपमा किसानका मुद्दा उठान गरी नीति बनाउन हैशियत राख्ने उम्मेदवारले मत पाउने उनको भनाइ छ । “विगतका चुनावमा किसानका मुद्दालाई निकै उठाइयो, राजनीतिक दलले चुनावी प्रतिबद्धतापत्रमा पनि ती कुरा उल्लेख गरे, काम गरेनन्”, करन धामीले भने, “यसपटक पार्टीलाई हेर्दैनौँ, काम गर्ने उम्मेदवारलाई हेछौ ।”

