गलेश्वर । संस्कृतमा एउटा उक्ति छ ‘उद्यमेन शिद्धयन्ति कार्याणी वामनोरथै’ अर्थात् उद्यम (परिश्रम) गर्ने मानिसको सम्पूर्ण मनोरथ (चाहना) पूरा हुन्छन् ।
संस्कृतको यो उक्ति म्याग्दीकी एक महिला उद्यमीले व्यावहारिकरुपमा नै पुष्टि गरेर देखाइ दिएकाछनछ् । म्याग्दीको सदरमुकाम बेनीस्थित मङ्गलाआमा समूहको भवनमा अल्लोको धागोबाट कपडा बुन्दै आएकी नेकसरा पुन जिल्लाकै सफल उद्यमीमात्रै होइन देसैँभरि अल्लो उद्यमी भनेर चिनिन्छन् ।
फरासिली स्वभावकी उद्यमी पुनले आफ्नो घरलाई अल्लो उद्यमको प्रयोगशालाजस्तै बनाएकी छिन् । आमा समूहको भवनमा पनि उनले अल्लोका कपडा बुन्ने र नयाँ उद्यमीलाई सीप सिकाउँदै आएकी छिन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ देवी स्थानबाट साढे दुई दशकअघि बेनी बजारमा झरेकी नेकसराले बुनेका ढाका र अल्लोका कपडाका विभिन्न उत्पादन स्वदेश तथा विदेशमा समेत बिक्री हुनेगरेका छन् ।
जिल्ला लघु उद्यमी सङ्घ म्याग्दीकी अध्यक्ष रहनुभएकी नेकसराले आफूजस्तै धेरै महिलालाई उद्यमी बनाइसकेकी छिन् । सीप, जाँगर र उद्यमीको परिचयमा रमाउने धेरै महिलाले नेकसराको मेहनत र सङ्घर्षलाई नजिकबाट चिनेका बेनी बजारकी भविकला शेरपुंजाले बताईन् । उनले पैतलादेखि शिरसम्म लगाउन मिल्ने कपडा हाते तानबाट बुन्दै आएकी छिन् ।
बिहानदेखि बेलुकी अबेरसम्म नेकसरा तानमा कपडा बुन्नमा नै व्यस्त छिन् । तानमा बसेपछि समय बितेको पत्तै नहुने उनले बताईन् । “यो पेसामा आबद्ध भएको हिजोजस्तै लाग्छ”, नेकसराले भनिन्, “तर, २५ वर्ष बितिसके छ, समय बितेको पत्तै भएन ।” पहिला पहिला सामान्य खर्चका लागि पनि परिवारको मुख ताक्नुपर्ने अवस्थाकी नेकसराको आम्दानी अहिले भने रहर लाग्दो छ । उनले आफैँ बुनेका कपडा बिक्री गरेर मासिक रु ७० हजारदेखि रु १ लाखसम्म आम्दानी हुनेगरेको बताएईन् । आफूले मात्रै होइन यो पेसामा लागेका उद्यमीले उत्पादन गरेका सामग्रीको अत्याधिक माग आउने गरेकाले पु¥याउनसमेत धौधौ भएको उनको भनाइ छ । यही पेसाबाट यहाँका ३० जना महिला आत्मनिर्भर बनेका नेकसराले बताईन् ।
विद्यालय उमेरबाटै तान बुन्न सिपालु नेकसराले अहिले उत्पादन गरेका सामग्री बिक्रीका लागि बजारको कुनै समस्या छैन । अल्लोको धागोबाट उनले कोट, झोला, पर्स, टोपी, जुत्ता, ‘मनिब्याग’, मोबाइल तथा ल्यापटप राख्ने झोलालगायतका सामग्री आकर्षक डिजाइनमा तयार गर्ने गर्छिन् । अल्लोबाट उत्पादित कोट, झोला, गलबन्दी, जुत्ता, टोपीलगायतका समान नेपालका विभिन्न जिल्लाका साथै विदेशमा समेत निर्यात हुने गरेको नेकसराले बताईन् । उनका अनुसार पछिल्लो समय अल्लोको कोट र जाडोको समयमा अल्लोको सलको माग अत्यधिक रहेको छ ।
म्याग्दीबाट विभिन्न देशमा गएका म्याग्देलीले अल्लोको उत्पादनलाई रुचाउने गरेकाले विदेशमा समेत कोसेलीको रुपमा लैजाने गरिएको उनले जानकारी दिईन् । नेकसराले उत्पादनसँगै विभिन्न जिल्लामा पुगेर महिला उद्यमीलाई तालिमसमेत दिने गरेकी छिन् । बेनीमा अहिले अल्लोका १० जना, कटन ब्यागका १२ जना र ढाकाको कपडा बुन्ने १६ महिला उद्यमी भएका छन् । रासस

