काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारी पनि ब्याजदर बढाउनुपर्ने दबाबमा परेका छन् । बैंक तथा वित्तीय संस्थाले झण्डै १८ प्रतिशतमा कर्जा प्रवाह गरिरहेको अवस्थामा सहकारीले २० प्रतिशतसम्म लिन पाउनुपर्ने माग गरेका छन् ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका काठमाडौँ जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सहकारीको सन्दर्भ ब्याजदर २० प्रतिशत बनाउन माग गर्नुभएको हो । सो संघमा हाल ४ हजार बढी सहकारी आबद्ध भएको र ती सहकारीहरूले संघमार्फत ब्याजदर बढाउन दबाब दिइरहेको तामाङले बताउनुभयो ।
सहकारी नियमावली २०७५ मा सन्दर्भ ब्याजदर निर्धारण सम्बन्धी व्यवस्था छ । अहिले सहकारीहरूले १६ प्रतिशत भन्दा बढीमा कर्जा प्रवाह गर्न नपाउने व्यवस्था छ । कर्जा र निक्षेपको ब्याजदर अन्तर ६ प्रतिशत हुनुपर्ने प्रावधान छ । यस आधारमा १० प्रतिशत भन्दा बढीमा सहकारीहरूले निक्षेप लिन पाउँदैनन् । तर कतिपय सहकारी नियम विपरीत नै रहेर ब्याजदर दिइरहेका छन् । त्यसको अनुगमन विभागबाट भएको छैन ।
पछिल्लो समय सहकारीमा ऋणीले ऋण नतिर्ने र अन्यलाई भड्काउने गरेको गुनासो काठमाडौँ जिल्लासंघमा ज्यादा आउने गरेको तामाङले बताउनुभयो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका अध्यक्ष परितोष पौडेलले ऐन नियमानुसार ब्याजदर बढाउने ठाउँ नभएकाले संशोधन गरेर भए पनि सन्दर्भ ब्याजदर बढाउनुपर्ने बताउनुभयो । ब्याजदर संस्थाभित्रको विषय भएकाले उसैलाई निर्धारण गर्न दिनुपर्ने पौडेलको तर्क छ ।

