सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीवासीले खाने व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सुर्खेतमा आज आइतवार आयोजित प्राङ्गारिक कृषि संवाद लाई सम्बोधन गर्दै उहाँले कर्णालीमा रैथाने बालीका उत्पादन खानेलाई हेला गर्ने गरिएकाले त्यस्तो प्रवृत्तिमा सुधार ल्याउन जरुरी भइसकेको बताउनुभयो ।
मुख्यमन्त्री शाहीले साविक कर्णालीका जिल्लाहरूमा भोकमरीभन्दा ‘भातमरी’ को समस्या बढी रहेको उल्लेख गर्नुभयो । ‘अर्ग्यानिक उत्पादनका दृष्टिले कर्णाली धनी छ तर यहाँका मानिसहरूमा रैथाने खाद्यान्न खानुलाई हेलाका दृृष्टिले हेर्ने गरिन्छ’, उहाँले भन्नुभयो, ‘जबसम्म हामी खाद्य व्यवहारमा परिर्वतन ल्याउन सक्दैनौँ, तबसम्म भोकमरीको मानसिकता रहिरहन्छ । सरकार, दातृ निकाय सबै मिलेर खाने व्यवहारमा परिर्वतन ल्याउन आवश्यक छ ।’ हुम्लामा फापर, जुम्लामा जौ, चिनो, दैलेखमा कोदो खानेलाई हेप्ने गरिएको दृष्टान्त दिँदै उहाँले खाद्य सुरक्षा र पोषणका दृष्टिले यी बाली महत्त्वपूर्ण रहेकाले ती कुरा नागरिकलाई बुझाउन सबैले ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।
कर्णालीमा खाद्य सुरक्षा भएका जिल्ला रुकुम पश्चिम र सल्यानलाई पहिलो प्राथमिकतामा राखेर अर्ग्यानिक कृषिसम्बन्धी कार्यक्रम सञ्चालन गर्न सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउने निर्णय गरेअनुसार त्यसयता मन्त्रालयले त्यसका लागि आधारशीला निर्माण गर्दै अघि बढेको बताउनुभयो । उहाँले मन्त्रालयले प्राङ्गारिक कृषि ऐन, प्राङ्गारिक उत्पादन प्रशोधन मापदण्ड, सहभागितामूलक गुणस्तर निर्धारण निर्देशिका, आन्तरिक नियन्त्रण प्रणाली निर्देशिका र प्राङ्गारिक कृषि योजनालगायतका ऐन कानुनहरु कार्यान्वयनमा ल्याइसकेको जानकारी दिनुभयो ।
मन्त्री शाहीका अनुसार अर्ग्यानिक कार्यक्रमका लागि चालु आवमा प्रदेश र सङ्घीय सरकारको गरी कर्णालीमा एक अर्ब ९७ करोड रुपैयाँ बजेट खर्च हुनेछ । रासस

