मकवानपुर । मकवानपुर जिल्ला मकवानपुर गढी गाउँपालिकाले रैथाने वाली ( जौँ र फापर ) खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष ०७९/८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रैथाने बाली प्रवर्द्धन गर्न किसानलाई अनुदान दिन लागिएको हो ।
बाँझो जमिन खनजोत गरी रैथाने बाली लगाउन इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी, कृषिसँग सम्बन्धित समिति र कृषि फर्म, कम्पनीहरूले १५ दिन अर्थात् भदौ आठ गतेसम्म आवेदन दिन पनि गाउँपालिकाको कृषि विकास शाखाले जनाएको छ । गाउँपालिकाले खेती गर्ने कृषकहरूलाई प्रति कट्ठा छ सय अथवा प्रति रोपनी नौ सयका दरले अनुदान दिने छ ।

