म्याग्दी । म्याग्दी जिल्ला मालीका गाउँपालिका वडा नम्वर ३ सराग्दीमा रहेको सिविएम एकिकृत जडिवुटी तथा पशुपंक्षी फमले निशुल्क रुपमा स्टवेरीको विरुवा वितरण गर्ने भएको छ । नेपालमै कृषि क्षेत्रमा स्वरोजगार वन्न चाहाने युवाहरुलाई लक्षीत गरी पहिलो चरणमा केही युवालाई विरुवा वितरण गर्ने योजना बनाएको फम सञ्चालक चुडामणि बुढाले बताउनुभयो ।
विभिन्न जातका फलफुलका विरुवाको नर्सरी उत्पादन गर्दै आउनुभएका बुढाले पहिलो चरणमा केही युवालाई आफुले उत्पादन गरेको स्टवेरीको विरुवा निशुल्क वितरण गरेर सहयोग गर्न चाहेको किसान पाटीलाई जानकारी गराउनुभयो ।
बजारमा खरिद गर्दा प्रति विरुवा ४० रुपैया पर्ने स्टवेरीको विरुवा एक लाख रुपैया वरावरको वितरण गर्ने लक्ष राखेको उहाँले बताउनुभयो । विरुवा वितरण कार्यक्रमलाई हरेक बर्ष निरन्तरता दिने लक्ष रहेको र उपहार प्रणालीले एकले अर्कोलाई वितरण गर्दै जाने वानीको विकास गर्न लागेको उहाँले जानकारी दिनुभयो ।
विरुवा आफुले निशुल्क दिए पनि त्यसलाई उत्पादनको चरणसम्म पुग्न आवश्यक पर्ने अन्य काम विरुवा प्राप्त गर्ने व्यक्ती आफैँले गर्नुपर्ने उहाँले बताउनुभयो । विरुवा लाने युवालाई आफुले जानेको ज्ञान र सिप निशुल्क सिकाउने वताउनुभयो ।उत्पादन सुरु भएपछि भएको आम्दानीको खर्च कटाएर २५ प्रतिशत रकम फर्मलाई वुझाउनु पर्ने र त्यही २५ प्रतिशतबाट थप विरुवा उत्पादन गरी अर्को युवालाई उपहारको रुपमा वितरण गर्दै जाने जानकारी दिनुभयो ।
स्टवेरीको विरुवा लगाएको दुई महिनामा फल्न सुरु गर्ने र ६ महिना पछि प्रति विरुवा एक किलोका दरले उत्पादन हुने उहाँले बताउनुभयो । नेपालमा कृषि क्षेत्रमा केही गर्न खोज्नेहरुका लागि आफु समान्य सहयोगी बन्ने उहाँले बताउनुभयो । १० रोपनी क्षेत्रफलमा १० लाख लगानी गरेर विरुवा नर्सरी उत्पादन गर्दै आएका बुढाले भविष्यमा थप लगानी गरेर काम गर्ने सोच वनाएको बताउनुभयो ।

