काठमाडौँ । नेपालमा एक महिनाको अवधीमा ४ जिल्लामा बर्डफ्लु देखिएको छ । पछिल्लो समय बर्डफ्लु रोग तीब्र रुपमा फैलिरहेको छ । हालसम्म काठमाडौँँ उपत्यकासहित मोरङ, चितवनका विभिन्न क्षेत्रमा किसानहरुले पालेका कुखुरा, परेवा, टर्की, हाँसमा बर्डफ्लु रोग पुष्टि भएको थियो ।
हाल उदयपुरमा पनि पंछीजन्य रोग बर्डफ्लु भित्रिएको छ । उदयपुरको ताप्ली गाउँपालिका ३, इनामेका किसानले पालेका लोकल कुखुरा,परेवा,टर्कीमा पुष्टि भएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख डाअजय साहले बताउनुभयो ।
उक्त गाउँपालिकाका किसान होमबहादुर मगर, चक्रबहादुर मगर, बमबहादुर तामाङलगायतले पालेका कुखुरा धमाधम मर्न थालेपछि परीक्षणको लागि केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पठाइएको थियो ।
परिक्षणका क्रममा रोग पुष्टि भएसँगै भेटेनरी डाक्टर, प्रयोगशालाका प्राविधिकसहित जिल्ला र स्थानीयका टोली अहिले घटनास्थल तर्फ जादैँ गरेको उहाँले बताउनुभएको छ । स्थानीय जातका कुखुरा,परेवा,हाँस र टर्की गरी करिब पाँच हजार पंछी नष्ट गरिने छ ।

