काठमाडौँ । रासायनिक मल खरिद सम्बन्धी सम्झौतापत्रमा नेपाल–भारतबीच हस्ताक्षर भएको छ । लामो प्रयासपछि आज भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर भएको कृषि तथा पशुपक्षि विकास मन्त्रालयले जनाएको छ । नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द शर्मा र भारत सरकारको कृषि सचिव राजेशकुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थितमा आयोजित एक भर्चुअल समारोहका बीच दुई पक्षबीच समझदारी पत्रमा हस्ताक्षर एवम् समझदारी पत्रको आदानप्रदान भएको थियो । समारोहमा सम्बन्धित मन्त्रालय र भारतीय तथा नेपाली दूतावासका अधिकारीहरुको पनि सहभागिता थियो ।
दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई सम्बोधन गर्नुका साथै कृषि उत्पादनमा वृद्धि ल्याई नेपाली किसानलाई लाभ प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो ।

