सुनसरी । सुनसरीका किसान अस्गर अली बालुवामा मोहर फलाउने ध्याउन्नमा लाग्नुभएको छ । उहाँको दैनिकी र लक्ष्य भनेकै कोसीको बाढीले बन्जर बनाएको जमिनमा फसल उब्जाउनु हो । कोसी गाउँपालिका ५ कुम्याहीको हुर्कीटोलका अली बालुवामा खेती गर्ने नमुना किसानसमेत हुनुहुन्छ । उहाँले यसअघिका बाली भने उठाइ सक्नुभएको छ । मनग्य आम्दानी गर्दै आएका अलीले यतिबेला १२ बिघाभन्दा बढी बालुवामा मौसमी खेतीलगायतका बाली लगाउनुभएको छ ।
गाउँपालिकाको सहयोगमा भारतको राजस्थान भ्रमण गरी सिकेको ज्ञानलाई व्यवहारमा उतारेका अलि यतिबेला कागती खेतीसँगै अन्य बाली उब्जाउने क्रममा हुनुहुन्छ । अलीले बालुवामा लगाएको बालीमा डिप बोरिङ र थोपा सिँचाइको माध्यमबाट पानीको प्रबन्ध मिलाउनुभएको छन् । जलकुम्भी लगायतका झारपात कुहाएर प्राङ्गारिक मल बनाइएको छ । बालुवालाई उब्जाउयोग्य बनाउन बाहिरबाट माटो ल्याएर लेबलिङ गरी अलीले खेती गर्नुभएको छ ।
कृषि पेसालाई निरन्तरता दिएका अली आधुनिक खेती थालेसँगै आम्दानीसमेत मनग्य भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘घर खर्च मज्जाले चल्छ । पहिला एउटा ट्र्याक्टर थियो । अहिले तीनवटा भइसक्यो । राम्रो आम्दानी छ ।’ अलीसँगै उहाँका छोरा पनि यही पेसामा हुनुहुन्छ । ६ वर्ष विदेशमा श्रम गरेका समी उल्लाह दुःख र कष्ट सहनुपरेको र कमाइ पनि राम्रो नभएपछि घर फर्किनुभएको हो । बाबुले धानेको पेसामा मनग्य आम्दानी देखेपछि उहाँ खेती किसानीमै रम्नुभएको छ ।
कोशी गाउँपालिकामा ३३ सय बिघा जग्गामा बालुवा छ । सप्तकोसीको बाढीले बालुवामा परिणत गरेको बन्जर जमिनलाई गाउँपालिकाले लेबलिङ गर्नेदेखि किसानका लागि राहत प्याकेजका काममा सघाउँदै आएको छ । विदेशमा कष्ट सहेर काम गरिरहेकाहरूका लागि सुनसरीको कोसी गाउँपालिकाका यी बाबु–छोराको लगन र परिश्रम पक्कै उदाहरणीय बन्न सक्छ ।

