भरतपुर । चितवनमा मलको अभाव भएको छ । मल नहुँदा किसानहरु बिनामल खेतीपाती गर्न बाध्य भएका छन् ।चितवनमा कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनले अनुदानको मल कृषि सहकारी तथा एग्रोभेटहरुलाई वितरण गर्दै आएका छन् । चितवनमा १२ हजार मेट्रिक टनको रासायनिक मलको माग छ ।
कृषि सामग्री कम्पनी भरतपुरको गोदाममा मल छैन । रासायनिक मल नहुँदा मल लिन आएका किसानहरु त्यसै फर्कनेगरेकाछन् । मकै, चैते धानलगाउने तयारी गरिरहेका किसानहरु मल नपाएर समस्यामा रहेकाछन् । तरकारी तथा केरा किसानहरुले पनि मल पाउन सकेका छैनन् ।
मल नहुँदा कृषि सहकारी तथा एग्रोभेटहरु पनि फर्किरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा मलको भाउ बढेको र सरकारले टेन्डर आह्वान गर्न नसकेको कारण समस्या बढ्दै गएको हो । तत्कालको लागि डिएपी मल आउने सम्भावना रहेपनि पोटास र युरिया मल आउन समय लाग्ने देखिएको छ । कृषि सामग्री कम्पनीले चितवनका एग्रोभेट र कृषि सहकारी गरी ३०० भन्दा बढी बिक्री केन्द्रहरुलाई मल वितरण गर्दै आएको छ ।

