काठमाडौं । आजदेखी कुखुराको मासुको मूल्य बढेको छ । कुखुरा बिक्री व्यवसायी संघले आजदेखि मासुको मूल्य प्रतिकेजी १५ रुपैयाँले बढेको जानकारी दिएको हो । संघका अनुसार आज शनिबारदेखि किसानले पाउने मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । किसानले पाउने मूल्य १० रुपैयाँले बढेसँगै उपभोक्ताले किन्ने मूल्य प्रतिकिलो १५ रुपैयाँ बढ्ने संघको भनाइ छ ।
मूल्य बढेसँगै उपत्यकामा कुखुराको मासुको मूल्य प्रतिकिलो ३६० रुपैयाँ पुगेको संघको दाबी छ । यस्तै, आजदेखि किसानले प्रतिकिलो जिउँदो कुखुराको मूल्य २६० रुपैयाँ पाउने संघले जानकारी दिएको छ । यद्यपि, संघले उपत्यकामा प्रतिकिलो ३६० रुपैयाँमा मासु बिक्री भइरहेको बताएपनि उपत्यकाका व्यापारीहरूले ३८० रुपैयाँसम्म लिने गरेका छन् । अध्यक्ष जंगबहादुर बिसीले संघमा आबद्ध कोल्ड स्टोरहरूले तोकेकै मूल्यमा कुखुराको मासु बेच्ने बताउनुभयो ।

