तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई केही समय अगाडि हाते ट्र्याक्टर प्रदान ग(यो । कृषिमा आधुनिकीकरण गर्ने उद्देश्यसहित गाउँपालिकाले कृषक छनोट गरी हाते ट्र्याक्टर वितरण गरेको थियो ।
परम्परागत रुपमा कृषि पेसा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यसहित गाउँपालिकाले वितरण गरेको हाते ट्र्याक्टरले कृषकलाई सहज भएको छ । गोरुको सहायताले खेतबारी जोत्दै आएका कृषक हाते ट्र्याक्टर पाएपछि खुसी भएका छन् ।
गाउँपालिकाले कृषकलाई प्रविधि हस्तान्तरणसँगै सीप पनि सिकाउन थालेको छ । हाते ट्र्याक्टर बिग्रिए मर्मतका लागि पोखरा वा दमौली लैजानुपर्ने बाध्यता रहेकाले कृषक स्वयम्लाई मर्मतसम्बन्धी ज्ञान प्रदान गरिएको गाउँपालिकाका उद्योग शाखाप्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।
“कृषकलाई हाते ट्र्याक्टर त दियौँ, तर बिग्रियो भने बनाउन अन्यत्रै लैजानुपर्ने बाध्यताको अन्त्य गर्न सीप पनि दिएका छौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा कृषकले आफँैले हाते ट्र्याक्टरको मर्मत गर्न सक्छन् ।” ट्र्याक्टरमा सामान्य समस्या आउँदा आफँैले मर्मतसम्भार गर्न सकून् र टाढाबाट मिस्त्री ल्याएर मर्मत गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने लक्ष्य राखिएको प्रखुख न्यौपानेले बताउनुभयो ।
म्याग्दे गाउँपालिका–२ मा सञ्चालित तालिममा १२ जना सहभागी छन् । हाते ट्र्याक्टर मर्मत तालिमले कृषकलाई सजिलो हुने ठानेर सीपमूलक तालिम दिइएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । “गाउँपालिकाले कृषकलाई विभिन्न समयमा प्रविधि हस्तान्तरण गरिरहेको छ, यसले गर्दा कृषक व्यावसायिक बन्न सक्छन्”, उहाँले भन्नुभयो । तालिमका प्रशिक्षार्थी विनोद श्रेष्ठले ट्र्याक्टर मर्मत तालिमले आफूहरुलाई सहज हुने बताउनुभयो । शिवशिखर एग्रो प्रालि पोखराका दिनेश थापाले मर्मतसम्बन्धी सहजीकरण गर्नुभएको छ ।

