काठमाडौं, २६ माघ । बागमती प्रदेशमा एकै दिन ८१ हजार २ सय ६४ बाख्राहरुमा पिपिआर रोग विरुद्धको खोप लगाइएको छ। पिपिआर रोग विरुद्धको सप्ताहव्यापी खोप अभियान अन्तर्गत पहिलो दिन मंगलबार बागमती प्रदेशभर जम्मा ८१२६४ बाख्राहरुमा पिपिआर रोग विरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।
जसमध्ये काभ्रेपलान्चोकमा ५५९४, ललितपुरमा १७९०, काठमाडौँमा ३४६४, भक्तपुरमा ९६८, दोलखामा ९४६९ वटा बाख्राहरुमा खोप लगाएको छ । यस्तै सिन्धुपाल्चोक९२०, सिन्धुली १५४००, रामेछाप १२०००, मकवानपुर १०९११, चितवन २७४०, नुवाकोट १०८९७, रसुवा २८३१ र धादिङमा ४२८० बाख्रामा पिपिआर रोग विरुद्धको खोप लगाइएको हो ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत प्रदेशभित्रको सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम सञ्चालन गरिएको हो । खोप अभियान यही माघ २५ गतेदेखि फागुन २ गतेसम्म संचालन हुनेछ ।

