महोत्तरी । तिलासक्रायत माघेसङ्क्रान्ति पर्व नजिकिएसँगै महोत्तरीका गरिब किसानको व्यस्तता झनै बढ्छ ।
पर्वविशेषमा आफ्ना उत्पादित फसलले राम्रो मूल्य पाउने आशमा गरिब किसानको व्यस्तता बढ्ने गरेको हो । मुखमै आइपुगेको तिलासक्रायत पर्व यहाँका गरिब किसानका लागि नगद आर्जनको अवसर पनि बनेको छ । पुसको ठिही चिसो खप्दै उखु पेलेर बनाइएको मिठ्ठा सख्खर, पाखोबारीमा लगाइएको तील, तरुल र मासको दालले राम्रो मूल्य पाएपछि गरिब किसानलाई यो पर्व नगद आर्जनको अवसर बनेको हो ।
पर्व अब ठ्याक्कै एक सातामै पर्ने भएपछि थोरै जग्गामा उखु लगाएका किसान भ्याइनभ्याइ गरेर मिठ्ठा बनाउन तल्लिन छन् । पर्वका लागि मिठ्ठा खोज्न व्यापारी र उपभोक्ता घरघरै आएपछि बजार पुग्नपर्ने समय पनि बचत भएको र राम्रो मूल्य पाइएको गरिब किसानको भनाइ छ । “जग्गै छैन बाबु, त्यही तीन कट्ठा जति त हो, त्यसैमा उखु र आली गरा छुट्याउन माटो उठाइएको, साँध सीमा मा तिल थियो”, भङ्गाहा नगरपालिका–४ का किसान लखन कापरले भन्नुभयो, “पवनी पर्व आइपुग्यो, उखु पेल्न र तील चुट्ने समय एउटै प¥यो, भ्याइनभ्याइ छ ।” पर्वका मुखमा कामको मारामार परे पनि मिठ्ठा र तील बेचेको पैसाले नगद खर्चको राम्रै जोहो हुने गरेको उहाँले बताउनुभयो ।
यसैगरी कापरकै छिमेकी भजनसिंह दनुवार पनि अहिले तरुल खन्न व्यस्त हुनुहुन्छ । तरुल तिलासक्रायत पर्वको खास परिकार भएको हुँदा अहिले राम्रो मूल्यमा बिक्री हुने गरेको दनुवारको भनाइ छ । “एकाध धुर २० धुरको एक कट्ठा मा खमरुवा तरुल छ बाबु, आफ्नै टोल घर वरिपरिका छिमेकी ले मागेका छन्”, उहाँले भन्नुभयो, “चाडबाडमा नगदकै कारोबार हुन्छ, राम्रै आर्जन भएको छ ।” तरुल खनेको केही दिनसम्म ताजै रहने हुनाले पर्वको एक साताअघिदेखि नै बिक्री हुने गरेको दनुवारको भनाइ छ ।
अहिले तीन÷चार कट्ठा मात्र जग्गा भएका गरिब किसानले पनि मिठ्ठा, तरुल र तिल बेचेर १०÷२० हजार नगद जोहो गर्न भ्याएका छन् । आफ्नो पाँच कट्ठा पाखो बारी सिँचाइ नपुगेको मै लगाइएको उखु, तिल र तरुलबाट २० हजार आम्दानी भएको भङ्गाहा–४ कै किसान गनु विश्वकर्माले बताउनुभयो । “अन्य कुरा मजदुरी र बरबटैया गरेर गुजारा टारिन्छ”, उहाँले भन्नुभयो, “नगद खर्च भने आफ्नै बारीको कमाइबाट दुःखसुख चलाइन्छ ।”
तिलासक्रायत पर्वमा सख्खर मिसाएर बनाइएको तिल, चिउरा, मुरी विशेष प्रकारको चामलको भुजा र जुनेला अन्न विशेष को लाई लड्डु, उसिनेको तरुल एवं मासको दाल, अरवा चामल र घिउको खिचडी विशेष प्रकार मानिने मैथिल परम्परा छ । यसै परम्पराले अहिले महोत्तरीसहितका मिथिला क्षेत्रका बस्तीबस्तीमा यी खाद्य सामग्रीको माग ह्वात्तै बढेको हो । पर्व विशेषले जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, गौशाला, भङ्गाहा र औरही नगरपालिका क्षेत्रमा उखु, तिल र तरुललगायतका बाली बढी लगाइने गरेको छ ।
पर्व विशेषले आफ्ना उत्पादित बाली सजिलै घरघरै राम्रो मूल्य पाएर बिक्री हुने भएकाले अहिले खासगरी गरिब किसानका लागि नगद जोहोको अवसर बनेको हो । अहिले राम्रो तिल प्रतिकिलो ३२५, मिठ्ठा ११० र तरुल १५० मा बिक्री हुँदैछ । तिलासक्रायत पर्व केही दिनमात्र बाँकी रहँदा यसक्षेत्रका घरघरमै अहिले मिठ्ठाको खुँदो बनाउने, तिल, चिउरा र जुनेलो भुटेर लाई लड्डु बनाउने काममा गृहिणी तल्लीन देखिएका छन् ।
तिलासक्रायत नजिकिएसँगै यहाँका बजारमा पनि पर्वविशेषका सामग्रीको बजार दिनदिनै जमेको छ । साप्ताहिक हटियामात्र नभएर अहिले बस्तीबस्ती मै तिल, मिठ्ठा, चिउरा, मुरी र कतिपय ठाउँमा लाई लड्डु कै बजार जमेको हो । रासस

