स्याङ्जा । गल्याङ -११ का अगुवा कृषक रुमलाल कंँडेलले लामो समयदेखि कृषिलाई नै आफ्नो मुख्य पेशा बनाउँदै आउनुभएको छ । विसं २०६६ देखि कृषि पेशामा लाग्नुभएका उहाँले यही पेशाबाट वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले आफ्नै घर जिम्मुवामा ६५ रोपनी जग्गामा व्यवसाय सञ्चालन गर्नुभएको छ । भगवती भैंसीपालन तथा कृषि बीउ उत्पादन फर्ममार्फत दैनिक ६० लिटर दूध बिक्री गर्दै कंँडेलले राम्रो आम्दानी गर्नुभएको हो । उहाँको फर्ममा अहिले १४ गाईभैंसी छन् । उहाँले आफ्नै फर्मबाट नश्ल सुधार गरेर गाईका बाच्छाबाच्छीसमेत उत्पादन गर्दै आउनुभएको छ ।
उहाँले भन्नुभयो, “काम गर्न चाहने किसानलाई नगरपालिकाले सहयोग गरेको छ, यस सहयोगले हामीलाई काम गर्न थप हौसला मिलेको छ ।” हुन पनि नगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटरमा दिने अनुदानले गाईभैंसी पालेर दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन मिलेको देखिन्छ । यसले कृषि पेशामा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिएको कंँडेल बताउनुहुन्छ ।
उहाँले करिब ४५ रोपनी जमिनमा आलु, धान र मकैको बीउ उत्पादन गर्दै आउनुभएको छ । यसबाहेक उहाँले १५ रोपनी जमिनमा गाईवस्तुका लागि आवश्यक घाँस खेतीसमेत गर्नुभएको छ । कँडेलले जनक देव, एमएस ४२ जातको आलुको बीउ, अनि अरुण –२ मकै तथा राम धान र सावित्री धानको बीउसमेत उत्पादन गर्नुभएको छ ।
आफ्नै उत्पादन गण्डकी प्रदेशका स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र गोरखाका साथै लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लामा बिक्री गर्दै आउनुभएका उहाँले यस वर्ष २५ टन आलु बिक्री गर्नुभयो । उहाँ अब एक टन मकै र सात टन धानको बीउ बिक्री गर्ने तयारीमा हुनुहुन्छ । नगरपालिकाले ऋण लिएर कृषि पेशा गर्नेहरूका लागि कृषि ऋणमा चार प्रतिशत अनुदान दिँदै आएको छ । आव २०७७र०७८ मा नगरपालिकाले कृषि ऋणमा व्याज अनुदानअन्तर्गत रु १५ लाख वितरण गरेको छ । यसबाट २८१ कृषक लाभान्वित भएको नगरपालिकाले जनाएको छ । रासस

