चितवन । किसानहरुको समस्या फोन मार्फत सामधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर सुरु भएको छ । नेपाल सरकार अन्तर्गत फलफूल तथा तरकारी मूल्य श्रृंखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानहरुका लागि कल सेन्टर स्थापना गरिएको हो ।
सो नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवि अधिकारीले मंगलवार कल सेन्टरको सयुक्त रुपमा उद्घाटन गरेका छन् । किसानलाई आइपर्ने समस्या र सामधानको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोन मार्फत किसानले राखेको समस्यालाई पालिकास्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या सामधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिनुभयो।
कार्यक्रममा आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरु कृषि र पशुपालन प्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिकास्तरमा रत्ननगरमा कल सेन्टर सुरु गरिएको बताउनुभयो। किसानलाई प्रविधिसँग जोड्न आवश्यक रहेको भन्दै उहाँले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुमा पनि यसलाई जोड्न सकिने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुख नारायण वनले किसानहरुको समस्या फोन मार्फत सामधान गर्न कल सेन्टर स्थापना गरिएको बताउनुभयो । यसलाई किसानलाई उपहारको रुपमा ल्याएको बताउदै उहाँले किसानको पहिचानको लागि परिचय पत्रको समेत व्यवस्था गर्ने जानकारी दिनुभयो ।

