काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणका लागि गुणात्मक प्रयत्न गर्न निजी क्षेत्रलाई आग्रह गर्नु भएको छ । नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँले हिजो (शनिबार ) भर्चुअलरूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशभित्र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्नेतिर उद्योगी व्यवसायीले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।
उनले त्यसका लागि सामान्य प्रयत्नले नपुग्ने भन्दै मन्त्री शर्माले प्रभावकारी प्रयन्त जरुरी रहेको बताउनु भयो । निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य रहेको भन्दै उनले यसमा निजी क्षेत्रको सहयोगको आवश्यकता औंलाउनु भयो । कोभिड– १९ सङ्कटका बेला निजी क्षेत्रले राहत महसुस गर्ने गरी सरकारले पाइला चाल्ने जानकारी गराउँदै उहाले गत शुक्रबार सार्वजनिक मौद्रिक नीतिमार्फत केही सम्बोधन गर्ने प्रयास गरिएको बताउनु भयो ।
राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्नका लागि निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ, त्यसका लागि सरकार तयार रहेको मन्त्री शर्माको भनाइ छ । उहाले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउनसमेत निजी क्षेत्रको सहयोग रहने अपेक्षा गर्नभयो । राष्ट्रिय सम्पत्ति कति हो भन्ने कुरा मूल्याङ्कन गरेर वैदेशिक लगानीको लागिसमेत उपयुक्त वातावरण निर्माण गर्ने र राष्ट्रको समग्र पुँजी निर्माण गर्नतिर लाग्नुपर्नेमा समेत मन्त्री शर्माको जोड छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोभिडपछिको पुनोरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै त्यो सकारात्मक भएको टिप्पणी गर्नु भयो । उहाले सरकारको राहत योजना विकसित मुलुकको जस्तो सिधै नगद दिने खालको नभए पनि सुधारमा सहयोगी रहेको बताउनु भयो ।
उद्योग वाणिज्य महासङ्घले १० वर्षमा १५० अर्ब अमेरिकी डलर बराबरको पुँजी निर्माण हुने अपेक्षाका साथ ‘राष्ट्रिय आर्थिक रुपान्तरण २०३० ९नेट २०३००’ नामक भिजन पेपर तयार पारेको जानकारी दिँदै अध्यक्ष गोल्छाले यसबाट थप २२ लाखलाई औपचारिक रोजगार बनाउने योजना रहेको बताउनु भयो । यो लक्ष्यप्राप्तिका लागि १० प्राथमिकताको क्षेत्र र १०० पहल पहिचान गरेको उहाले जानकारी दिनुभयो ।
नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले नवगठित सरकारले सम्पूर्ण नागरिकलाई कोभिड– १९ विरुद्धको खोप उपलब्ध गराई अर्थतन्त्र जोगाउने सङ्कल्पसहितको नीति लिएकामा आभार व्यक्त गर्नु भयो । उहाले ‘एक प्यान, एक खोप’ नीति अघि सार्न सरकारसँग माग गर्नुभयो । यसले अर्थतन्त्र जोगाउन मद्दत पुग्ने विश्वास उहाले ब्यक्त गर्नुभयो ।

