काठमाडौँ, । नेपालमै पहिलो पटक सम्पन्न हुन लागेको डिजिटल कृषि सम्मेलनको लागि आयोजकले आवेदन खुल्ला गरेको छ । प्राविधिक विद्यार्थी संघ नेपाल, कृषि तथा वन विज्ञान विश्ववद्यालय (TSAN-AFU) र युथ थिङकर्स सोसाइटी- चितवन (YTS Chitwan) को सहकार्यमा हुन गइरहेको उक्त सम्मेलनको तयारी सुरु भएको छ ।
भर्चुअल माध्यम ‘जुम मिटिङ’ मार्फत असोज २ र ३ गते सञ्चालन गरिने उक्त सम्मेलनमा देश तथा विदेशबाट विद्यार्थीहरूको सहभागिता रहनेछ । आयोजकले यस सम्मेलनको लक्ष्य विद्यार्थी एवम् युवावर्गलाई एउटै छानामा ल्याई विशेष गरी प्रविधि र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखी कार्यक्रमहरू सञ्चालन हुने बताएको छ ।
कृषि सम्मेलनमा भाग लिनका लागि देश तथा विदेशका जुन कुनै कुनाबाट आवेदनको फारम भर्न तथा सहभागी हुन सकिनेछ । उक्त कृषि सम्मेलनमा पाँच वटा विश्वविद्यालयका चौबीसवटा क्याम्पसको प्रतिनिधित्व गर्दै २७ जना विद्यार्थीहरू सहभागी हुनेछन् । उक्त प्रतिनिधिहरूले यस सम्मेलनमा देश भरिका विद्यार्थीहरूको उपस्थिति र सम्मेलनबाट निस्कने ज्ञानको विस्तारमा टेवा पुर्याउने विश्वास आयोजकले लिएको छ ।
आयोजकका अनुसार प्रतिनिधिका रुपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत प्राकृतिक श्रोत व्यवस्थापन कलेज (CNRM) पुरञ्चौरबाट सृजना अधिकारी र रोशन घिमिरे छनोट भएका छन्। त्यस्तै,CNRM सिन्धुलीबाट सन्देश सापकोटा, CNRM पाख्रीबास, धनकुटाबाट अर्जुन दाहाल, CNRM टीकापुर, कैलालीबाट विनोद राज भट्ट, CNRM खजुरा, बाँकेबाट जोनास बाडू, CNRM माडीचौर, रोल्पाबाट प्रतिमा भण्डारी र सुनिल ढुङ्गाना र कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत नै प्राकृतिक श्रोत व्यवस्थापन कलेज दुल्लु, दैलेखबाट पवन सापकोटाले प्रतिनिधित्व गर्ने भएका छन् ।

