चितवन । नेपालमा मौरीपालनको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन, चरन क्षेत्रको अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको प्रकोपका कारण व्यवसाय चुनौतीपूर्ण बन्दै गएको छ ।
मौरीपालन विकास केन्द्र, भण्डाराका कार्यालय प्रमुख सुजन अमगाईंका अनुसार मौसममा आएको परिवर्तनसँगै मौरीपालकले चरन अभाव, रोग तथा परजीवीको सङ्क्रमण र साना खपटेको समस्या एकैसाथ सामना गर्नुपरेको छ । यस वर्ष चितवनमा अत्यधिक वर्षा र बाढीका कारण करिब एक हजार मौरीका घारगोला डुबानमा परी क्षति भएको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ मह क्षेत्र विकास विज्ञ सुरेन्द्रराज जोशीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालभर दुई लाख ७६ हजार मौरीका घारबाट चार हजार २७८ टन मह उत्पादन भएको छ । प्रतिघार औसत १५ दशमलव ५ किलोग्राम मह उत्पादन हुने गरेको छ । देशभर करिब १६ हजार ५०० घरपरिवार मौरीपालनमा प्रत्यक्ष आबद्ध छन् ।
नेपालमा वनजङ्गल, कृषि प्रणाली र प्राकृतिक चरन क्षमताका आधारमा १० लाखसम्म मौरीका गोला पाल्न सकिने र उचित व्यवस्थापन भए वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी मह उत्पादन गर्न सकिने जोशीले बताउनुभयो ।
उहाँका अनुसार मौरीपालकका लागि चरन क्षेत्रको अभाव प्रमुख समस्या हो । सर्वेक्षणमा ५६ दशमलव ५ प्रतिशत मौरीपालकले चरन अभावलाई प्रमुख समस्या बताएका छन् । जलवायु परिवर्तनसँगै जङ्गली मौरीको प्राकृतिक बासस्थानमा आएको परिवर्तन र अवैज्ञानिक मह सिकारले पनि जङ्गली मौरी संरक्षणमा चुनौती थपिएको छ ।
बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव सुधीर श्रेष्ठले चिउरीलगायत मौरीका चरन वनस्पतिको प्रवर्द्धन, महको गुणस्तर र आकर्षक प्याकेजिङमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले किसानले योजनासहित प्रस्ताव ल्याए प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

