चितवन । चितवनमा कृषि बजेट निरन्तर घट्दै जाँदा किसान लक्षित महत्वपूर्ण कार्यक्रम प्रभावित भएका छन् । कृषि विकास कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा कार्यालयको प्रादेशिक बजेट घटेर रु चार करोड १५ लाख ७२ हजारमा सीमित भएको छ ।
कुल बजेटमध्ये रु एक करोड ७९ लाख सात हजार प्रशासनिक तथा उपभोगतर्फ खर्च हुने भएपछि प्रत्यक्ष कृषि विकासका लागि रु दुई करोड ३६ लाख ६५ हजार मात्रै उपलब्ध छ । बजेट अभावका कारण व्यावसायिक तरकारी, फलफूल, आलु, मकै, गहुँ तथा पुष्प व्यवसाय प्रवर्द्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।
माटो सुधार, जैविक मल प्रवर्द्धन, बाली संरक्षण, माटो परीक्षण, कृषि उपज बजारीकरण, मूल्य शृङ्खला विकास तथा कृषि तथ्याङ्क अद्यावधिकजस्ता कार्यक्रमसमेत यस वर्ष समेट्न नसकिएको कार्यालय प्रमुख झलकनाथ कँडेलले बताउनुभयो ।
कार्यालयको बजेट आव २०७६/७७ मा रु २४ करोड १३ लाखभन्दा बढी थियो । बागमती प्रदेशका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठले सुरुआती वर्षमा चितवनको कृषि बजेट करिब रु ४० करोड पुगेको स्मरण गर्दै पछिल्ला वर्षमा बजेट घट्दै गएको बताउनुभयो । उहाँका अनुसार प्रदेशको कृषि क्षेत्रको समग्र बजेटसमेत करिब रु पाँच अर्बबाट घटेर चालु आवमा रु दुई अर्ब ५० करोडमा झरेको छ ।

