चितवन । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा चितवनसहित १६ जिल्लाका किसानका करिब सात हजार कुखुराको पोष्टमार्टम गरी रोग पहिचान गरेको छ ।
प्रयोगशालाका प्रमुख डा. विजयकुमार श्रेष्ठका अनुसार एक हजार ५०० नमुना परीक्षण गर्दा १० प्रकारका रोग देखिएका छन् । परीक्षणमा २२ प्रतिशतमा इकोलाई, १३ प्रतिशतमा गम्बारो, नौ प्रतिशतमा सिआरडी तथा नौ प्रतिशतमा ढुसीजन्य रोग देखिएको छ ।
यस्तै, साल्मोनेलोसिस, सिसिआरडी, एभियन इन्फ्लुएन्जा, कुखुराको हैजा, आइबी र रानीखेतलगायतका रोगसमेत पहिचान भएका छन् ।
प्रयोगशालाले विभिन्न विधिबाट नमुना परीक्षण गरी सङ्क्रमित कुखुराका लागि आवश्यक उपचार तथा एन्टीबायोटिकबारे सेवाग्राहीलाई जानकारी दिँदै आएको छ ।
डा। श्रेष्ठले कुखुरामा रोगको सङ्क्रमण रोक्न किसानले जैविक सुरक्षा अपनाउनुपर्ने बताउनुभयो। जैविक सुरक्षा कमजोर हुँदा कुखुराजन्य रोगको जोखिम बढ्ने उहाँको भनाइ छ ।

