भोजपुर – पौवादुङमा गाउँपालिकाका महिला ५० प्रतिशत अनुदान पाएपछि व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । गाउँपालिकाको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी र खोर निर्माणमा अनुदान पाएपछि महिलाहरू व्यवसायमा जोडिएका हुन् ।
कार्यक्रमअन्तर्गत वडा नं. ४, ५ र ६ का किसानलाई बङ्गुरपालनका लागि सहयोग गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गत आर्थिक वर्षमा रु. ३० लाख बजेट विनियोजन गरी किसानको ५० प्रतिशत लागत साझेदारीमा रु. ६० लाख बराबरका कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रमबाट २० वटा बङ्गुर तथा एउटा बाख्रा फर्मलाई अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपालनमा आधारित कार्यक्रमलाई निरन्तरता दिइने बताइन् ।

