काठमाडौँ – दुग्ध विकास संस्थान (डिडिसी), नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच दुग्ध क्षेत्रको एकीकृत विकासका लागि समझदारी भएको छ।
समझदारीअनुसार डिडिसीले साना किसान कृषि सहकारीबाट उत्पादित दूध खरिद गर्नेछ भने दूध संकलनस्थलमै गुणस्तर र तौल निर्धारण तथा एक महिनाभन्दा बढी भुक्तानी बक्यौता नराख्ने व्यवस्था गरिनेछ।
साना किसान विकास लघुवित्तले दुग्ध किसानलाई पशुपालन तथा दुग्ध व्यवसायका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ। दूध उत्पादन बढाउन ‘दूध पकेट क्षेत्र’ निर्माणमा समेत सहयोग गर्ने सहमति भएको छ।
नेपाल कृषि सहकारी केन्द्रीय संघले किसान र डिडिसीबीच समन्वय गर्नुका साथै सहकारीको दुग्ध व्यवसायसम्बन्धी पूर्वाधार विकासमा सहयोग गर्नेछ।
समझदारीअनुसार चालु आर्थिक वर्षमा दैनिक ६० हजार लिटर दूध कारोबार गर्ने लक्ष्य राखिएको छ। तीन संस्थाले आगामी भदौ १ गतेदेखि साना किसानको दूध संकलन सुरु गर्ने सहमति गरेका छन्।
समझदारीपत्रमा डिडिसीका महाप्रबन्धक डा। शरणकुमार पाण्डे, साना किसान विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र नेपाल कृषि सहकारी केन्द्रीय संघका महाप्रबन्धक डा। रुद्रबहादुर श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।
यस सहकार्यले किसानको दूधको बजार सुनिश्चित गर्दै उत्पादन, संकलन, प्रशोधन, बजारीकरण र भुक्तानी प्रणालीलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

