काठमाण्डौ । बागलुङका स्थानीय खोलाहरूमा पाइने प्रसिद्ध रैथाने असला माछा लोप हुन थालेपछि पालिकाहरूले संरक्षणका प्रयास गर्न थालेका छन् ।
करेन्ट लगाएर र विष हालेर माछा मार्ने अवैध गतिविधि बढेपछि जैमिनी नगरपालिकाले ठेउलेखोलासहितका खोलामा माछा मार्न पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको छ । नगरपालिकाले असला माछाको प्रजनन समय मानिने भदौ, असोज र कात्तिक तीन महिना माछा मार्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
इजाजत लिएर परम्परागत शैलीबाट मात्रै माछा मार्न पाइने र नियम उल्लङ्घन गरे प्रहरीमार्फत कारबाही गरिने जैमिनीका उपमेयर हरिहर शर्माले जानकारी दिनुभयो । यसअघि गलकोट नगरपालिका, ताराखोला र काठेखोला गाउँपालिकाले पनि माछा मार्न रोक लगाएका थिए ।
कडाइ गरिएपछि गलकोटको दरमखोलामा माछाको उत्पादन बढेको छ । जलचर र जैविक विविधता जोगाउँदै स्थानीय युवालाई परम्परागत शैलीबाट माछा मारेर स्वरोजगार बनाउन पालिकाले यो संरक्षण नीति ल्याएका हुन् ।

