चितवन- कृषिलाई व्यावसायिक बनाउँदै कम लागतमा बढी उत्पादन बढाउने लक्ष्यसहित सिँचाइ प्रविधिको प्रभावकारी प्रयोग आवश्यक भएको बताइएको छ । अनुसन्धान भए पनि व्यवहारमा लागू नहुँदा धेरै प्रविधि प्रयोगमा आउन नसकेको देखिन्छ ।
भरतपुर–१६ विजयनगरका प्रा डा ई भगवानदास मानन्धरले विकास गर्नुभएको “काचाल्का” सिँचाइ प्रविधिले कम पानीमा प्रभावकारी रूपमा बाली सिँचाइ गर्न सकिने देखाएको छ । यस प्रविधिमा थोपा–थोपा रूपमा पानी वितरण गरी पानीको बचत र उत्पादन वृद्धि गर्न सकिन्छ ।
मानन्धरले आफ्नै खेतमा परीक्षण गर्दै यसको प्रभावकारिता प्रमाणित गर्नुभएको छ । करिब ९३ प्रतिशत सिँचाइ दक्षता रहेको यो प्रविधि परम्परागत प्रणालीभन्दा सस्तो र उपयोगी रहेको उहाँको दाबी छ । इच्छुक किसानलाई यसबारे सहयोग उपलब्ध गराइने पनि जनाइएको छ ।

