चितवन – नेपालमा मौरीपालन सम्बन्धी उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गरिँदै छ । युनाईटेड नेशनल इन्ड्रष्ट्रियल डेभलपमेन्ट अर्गनाईजेसनले व्यवसायीक किट विकास केन्द्र हरिहरभवन, मौरीपालन विकास केन्द्र भण्डाराको सहयोगमा ११ जिल्लामा मौरीको उद्यमशिलता विकासका लागि प्रशिक्षक तयार गर्न लागेको हो ।
परियोजनाले प्रशिक्षक तयार गर्नका लागि चितवनमा २८ जनालाई पाँच दिनसम्म तालिम समेत प्रदान गरिसकेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, बारा, रौतहट, पाल्पा, सर्लाही, मकवानपुर, चितवन, कास्की, रसुवाका पालिकाका उद्यमशिल विकास सहजकर्ता तथा कृषि प्राविधिकलाई प्रशिक्षक बनाउनका लागि तालिम प्रदान गरिएको परियोजना नेशनल भ्यालुचेन डेभलपमेन्ट एक्सपट सूरेस बरालले जानकारी दिए ।
उनका अनुसार चितवनमा पुस १० गतेदेखि १४ गतेसम्म तालिम लिएर गएका प्रशिक्षकले पालिकासँग समन्वय गरेर किसानलाई तालिम दिनेछन् । उनीहरुले किसानलाई समग्र रुपमा मह उत्पादनको खर्च व्यवस्थापन तथा लेखा सम्बन्धी अभिलेख राख्ने विषयमा प्रशिक्षण दिने बरालले बताए । यहाँबाट सिकेर गएका प्रशिक्षकबाट एउटा पालिकामा कम्तिमा एउटा तालिमको अपेक्षा समेत राखिएको उनले बताए । यसका लागि परियोजनाले समन्वय गर्नको सहजिकरण गर्नेछ ।
चितवनको भण्डारामा पाँच दिनसम्म सञ्चालन भएको तालिममा मौरीपालन सम्बन्धी व्यवसायीक योजना अन्तरगत लागत विश्लेषण, स्थिर पुँजिको विश्लेषण, पार विन्दु, लेखा व्यवस्थापन, अभिलेख व्यवस्थापन, उत्पादन तथा उत्पादकत्वको बारेमा प्रशिक्षण दिइएको थियो ।

