नवलपरासी – नवलपरासीमा ३४ वटा पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । खोप नलगाएका पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताउनुभयो ।
उहाँका अनुसार पाडापाडी र बाच्छाबाच्छीमा लम्पी स्किनको सङ्क्रमण धेरै फैलिएको छ । अहिले सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पी स्किन फैलिएको चौधरीले जानकारी दिनुभयो । पहिलाे पटक बर्दघाटमा देखिएको लम्पी स्किनको सङ्क्रमण अहिले जिल्लाका पाँच वटै पालिकामा फैलिएको छ ।
लम्पी स्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने प्रमुख डा. चौधरीले जानकारी दिनुभयाे ।
नेपालमा २०७६ सालदेखि लम्पी स्किनको सङ्क्रमण देखिएको हो । केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्याङ्क अनुसार ७६ वटा जिल्लामा फैलिएको लम्पी स्किनबाट पाँच लाख ५५ हजार पशु सङ्क्रमित भएका छन् । तीमध्ये २१ हजार पशु मरेका छन् ।

