मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिकाको रैथाने जातका अन्नबालीको प्रवर्द्धन कार्यक्रम लागू भएसँगै कोदोखेतीतर्फ किसान आकर्षित भएका छन् । पालिकाले चालू आर्थिक वर्षमा रैथाने बाली प्रोत्साहनका लागि नगद अनुदान कार्यक्रमअन्तर्गत ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
दुई रोपनीभन्दा बढी जग्गामा कोदो, फापरजस्ता रैथाने जातका अन्नबालीको खेती गर्ने चार सय २४ जना किसानलाई उत्पादनका आधारमा अधिकतम २७ हजार आठ सय रुपैयाँसम्म प्रोत्साहन रकम बाँडिएको पालिकाका कृषि शाखा प्रमुख उज्ज्वल राना मगरले जानकारी दिनुभयो । पालिकाका चार सय ५१ जना किसानले दुई हजार पाँच सय १० रोपनी जग्गामा कोदोखेती गर्न यस वर्ष निवदेन दिएका थिए । ती जग्गामा झन्डै दुई सय ५५ मेट्रिक टन कोदो उत्पादन हुने पालिकाले जनाएको छ ।
समग्र गाउँपालिकाभरि पाँच हजार १३ रोपनी क्षेत्रफलमा कोदोखेती हुने र त्यसमा पाँच सय नाै मेट्रिक टनसम्म कोदो उत्पादन हुने अनुमान गरिएको कृषि शाखा प्रमुख राना मगरले जानकारी दिनुभयो । यसैगरी भीमफेदी गाउँपालिकाले रैथाने बाली कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ५५ रुपैयाँ तोकेको छ ।
गाउँपालिकाले गएकाे आर्थिक वर्षदेखि यो कार्यक्रम शुरू गरे पनि चालू आर्थिक वर्षदेखि कृषि कार्यक्रम सञ्चालनसम्बन्धी निर्देशिका २०८१ बनाएर सञ्चालन गरेको हो । गाउँपालिकाका अध्यक्ष हिदम लामाले कार्यक्रमबाट परम्परागत एवम् रैथाने बालीका रूपमा परिचित कोदोखेतीको प्रवर्द्धन तथा व्यावसायिक उत्पादनमा सहयोग पुग्ने र स्थानीय किसानको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । रासस

