मोरङ / कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।
प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।
गत आर्थिक वर्ष २०७९र८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०र८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ ।
क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए ।
उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएको छ ।
मकैको उत्पादन बढेसँगै किसान खुसी छन् । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायिक मकै खेती गर्दै आएको बताइन् । उनले मौसममा डेढ बिघा जमिनमा र बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छ वर्षदेखि मकै खेती गर्दै आएकी छन् । ‘गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा बिक्री भयो’, उनले भनिन् ।
किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्ने गरेको उनको भनाइ छ । खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाहै्र महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।
सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने उनले बताए । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने डाँगीको भनाइ छ । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न थलेका छन् ।
तराइमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए । रासस

