काठमाण्डौ / काठमाण्डौको चोभारमा निर्माणाधीन पुष्प तथा फलफूल थोक बजार भवन निर्माणको काममा ढिलासुस्ती भएको छ । २०७३ सालमा दुई वर्षभित्र सक्ने गर्नेगरी काम शुरु भएको बहुतले भवन अहिलेसम्म अधुरै छ । भवन निर्माणका लागि ११ औँ पटक थपिएको म्याद सकिन अब केही दिन मात्र बाँकी छ ।
दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७३ साल असोजमा झण्डै ३५ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार काम नभएपछि पछिल्लो पटक २०८० चैत १३ मा भदौ मसान्तभित्र काम सम्पन्न गर्नेगरी ११ औँ पटक म्याद थप भएको थियो । थपिएको समयमा काम पूरा नहुँदा लागत बढेर ४० करोड माथि पुगेको छ ।
लागत बढ्दै जाने तर सम्झौताअनुसार काम नभएपछि कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले काम तत्काल सक्न निर्देशनसमेत दिनुभएको छ । मन्त्री अधिकारीले हिजो निरीक्षणसहित निर्देशन दिनुभएको हो ।
विश्व बैंकको सहयोगमा त्यसबेला सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले निर्माण शुरु गरेको थियो । तर प्याक्ट आयोजनाको अवधि २०७५ मा सकिएपछि निर्माण र आवश्यक थप लगानीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयो भौतिक पूर्वाधार निर्माणको जिम्मेवारी महादेव खिम्ती निर्माण सेवा, अनक कन्ट्रक्सन र बङ्गलादेशी कम्पनी साम्सोजामोनले संयुक्त रुपमा पाएका थिए ।
सरकारले आर्थिक वर्ष २०७९/८० देखि यो बजार सञ्चालनमा ल्याउने बजेटमार्फत घोषणा समेत गरेको थियो । चोभारको बहुतले भवन सञ्चालनमा आउँदा उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने अपेक्षा छ । पुष्प तथा फलफूल थोक बजार तत्काल सञ्चालनमा ल्याउनका लागि मन्त्रालयबाट आवश्यक सहजीकरण गर्न तयार रहेको मन्त्री अधिकारीले प्रतिबद्धता समेत जनाउनुभएको छ ।

