सिन्धुली / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकासमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थौलीमा आज दुधौली नगर अस्पतालको समुद्घाटन गर्दै उहाँले कृषिमा आधारित उद्योगको विकासमा विशेष जोड दिइएको बताउनुभयो ।
स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले सरकारले रुग्ण उद्योग सञ्चालन गर्न लागेको जानकारी दिँदै उहाँले त्यस्ता उद्योग सञ्चालनका लागि सम्बिन्धत मन्त्रालय र विभागलाई निर्देशन दिएको बताउनुभयो । भारत र चीन भ्रमणका क्रममा प्रधानमन्त्रीका रुपमा आफूले कृषिको यान्त्रिकीकरण र कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न पहल गरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि छिमेकी मुलुकबाट पनि प्रतिबद्धता व्यक्त भएको उहाँको भनाइ छ ।
वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको स्प्ष्ट दृष्टिकोणसहित अघि बढेको उल्लेख गर्दै प्रधामन्त्री दाहालले सरकारबाट थालनी भएका जनपक्षीय कामबाट जनतामा सरकारप्रति आशा र भरोसा बढेको बताउनुभयो । “ सरकारले स्वास्थ्य र शिक्षालाई विशेष प्राथमिकता दिएको छ, सुशासनको पक्षमा सरकारले महत्वपूर्ण कदम चालेको छ”, उहाँले भन्नुभयो, “जनताले पाइरहेको सास्तीलाई मध्यनजगर गर्दै सेवा प्रवाहलाई सहज बनाइएको छ ।”
प्रधानमन्त्रीका रुपमा आफूले द्विपक्षीय र बहुपक्षीय मञ्चमा नेपालका तर्फबाट जलवायु परिवर्तनका असरका मुद्दालाई प्रमुखताका साथ उठान गरेको जानकारी दिँदै उहाँले नेपालजस्ता पर्वतीय मुलुकका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको स्मरण गर्नुभयो ।

