काठमाण्डौ / मुस्ताङबाट यस वर्ष ४९ करोड रुपैयाँभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मुस्ताङस्थित स्याउ जोन कार्यालयले यस वर्ष उत्पादन भएको ९० प्रतिशत स्याउ बजारमा निकासी भइसकेको जनाएको छ ।
स्याउ जोन मुस्ताङका प्रमुख नेत्रप्रसाद भट्टले जिल्लाभर चार हजार नौ सय ७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमध्ये चार हजार चार सय ७७ दशमलव पाँच मेट्रिक टन स्याउ देशका विभिन्न ठाउँमा निकासी भएको बताउनुभयो ।
कृषकले बिक्री गरेको सरदर प्रतिकिलो एक सय १० रुपैयाँका दरले हिसाब गर्दा ४९ करोड २५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको स्याउ जोन कार्यालयले जनाएको छ ।

