चितवन / चितवनमा राष्ट्रपति कृषक पुरस्कारबाट चार जना किसान सम्मानित भएका छन् । कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा भएको कार्यक्रममा जिल्लाका केरा, तरकारी, मौरी र दूध किसान गरी चार किसान सम्मानित भएका हुन् ।
ज्ञान केन्दले भरतपुर महानगरपालिका–२८ मा रहेर बिगत १० वर्षदेखि ज्योति कृषि फार्म सञ्चालन गर्दै केरा खेती गर्दै आएका सुन्दरप्रसाद न्यौपाने, भरतपुर–२४ मा तरकारी खेती तथा भैँसीपालन गर्दै आएकी रतिमाया गुरुङ्, कालिका नगरपालिका–६ मा रहेर मौरीपालन गर्दै आएका शिवप्रसाद शर्मा पौडेल र भरतपुर महानगपालिका–८ मा पशुपालन गर्दै आएका शिवलाल कँडेललाई नगत १० हजारसहित सम्मान गरेको हो ।
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा पशुपंछी विकास मन्त्रालय बागमती प्रदेशका कृषि सचिव राजेन्द्र कोइरालाले ज्ञान केन्द्रबाट सम्मानित भएका किसान लामो समयदेखि इतिहास बोकेर हरेक परिस्थितिको सामान गर्दै यहाँसम्म आइपुगेको बताउनुभएको छ। त्यस्तै कृषि विकास निर्देशनालय बागमती प्रदेशका कार्यालय प्रमुख तेजप्रसाद दवाडीले सबै जिल्लामा ज्ञान केन्द्रले पुरस्कार दिने व्यवस्था रहेको बताउनुभयो ।
त्यस्तै ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँंडेलले पुरस्कृत भएका सबै किसान जिल्लका सबै किसानको प्रतिनिधित्व भएकोले शुभकामना व्यक्त गर्नुभएको छ । ज्ञान केन्द्र चितवनले पुरस्कार वितरणको लागि कृषकसँग आवेदन माग गरेर सूचना जारी गरेसँगै केन्द्रमा ३२ किसानको आवेदन परेको र उक्त आवेदन पश्चात क्षेत्रगत अनुगमन गदै केन्द्रले उत्कृष्ट चार किसान छनोट गरेको ज्ञान केन्द्रले जानकारी दिएको छ ।

