काठमाण्डौ । चिया क्षेत्रमा कार्यरत झापाका मजदुर ज्याला पुनरावलोकनको मागसहित एक महिनादेखि आन्दोलनमा छन् । दुई वर्षमा पुनरावलोकन हुनुपर्ने ज्याला चार वर्षमा पनि नबढेपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आफू कार्यरत चिया बगानको गोदाममा कालो झन्डा गाडेका मजदुरले ३१ असारदेखि हरेक दिन काम सुरु गर्नुअघि नाराबाजी गर्दै आएका छन् । यसअघि मजदुरले सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि काँकडभिट्टामा प्रदर्शन पनि गरेका थिए । मजदुरको माग छ– समयानुकूल पारिश्रमिक बढाउनुपर्ने, रोजगार सम्झौता गरेर मात्र काममा लगाइनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्नुपर्ने र पत्ती डब्ली प्रतिकेजी चार रुपैयाँ पुर्याइनुपर्ने ।
श्रम ऐन, २०७४ ले मजदुरसँग सम्बन्धित रोजगारदाताले रोजगार सम्झौता गर्नुपर्ने र हरेक दुई–दुई वर्षमा ज्याला पुनरावलोकन गर्नुपर्ने व्यवस्था गरेको छ । रोजगार सम्झौता नगरी काममा लगाउन नपाइने, सामाजिक सुरक्षाको व्यवस्था, सार्वजनिक, साप्ताहिक, सट्टा, घर, बिरामी, प्रसूति, किरियालगायत बिदाको व्यवस्था गर्नुपर्ने, सञ्चय कोष, उपदान, औषधि–उपचार बिमा, दुर्घटना बिमा, व्यवसायजन्य सुरक्षा, आश्रित परिवारलाई आवासको प्रबन्ध, निःशुल्क प्राथमिक उपचारको प्रबन्धको व्यवस्था गर्नुपर्ने पनि श्रम ऐनमा उल्लेख छ ।
तर, चियामजदुरहरू रोजगार सम्झौताविना नै चार वर्षअघिको ज्यालामा काम गरिरहेका छन् । चियाउद्यमी घाटा देखाएर पन्छिरहेका छन् । श्रमिकले चियाउद्यमी र उद्योगीलाई ७ भदौसम्मको अल्टिमेटम दिएका छन् । चियामजदुरले ज्याला वृद्धिका लागि यसअघि १७ चैत ०७५ देखि ४४ दिनसम्म बगान र उद्योग ठप्प पारेर आन्दोलन गरेका थिए । चियाउद्योगीहरूले श्रम ऐन कार्यान्वयन गर्ने आश्वासन दिनुका साथै ज्याला वृद्धि गरेपछि काममा फर्किएका थिए । नयाँ पत्रिका बाट ।

