चितवन । चितवनको माडी नगरपालिका ८ मा किसानहरूको चार वर्षअघि राज्यले सामूहिक खेतीको अवधारणा सहित लगानी गरेको चार करोड स्वाहा भएको छ । साढे ४ करोड रूपैयाँ खर्च गरेको योजना सञ्चालनमा नआउँदै व्यक्तिलाई सञ्चालन गर्न दिइएको छ । वाग्मती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सामूहिक खेती प्रवद्र्धन कार्यक्रमअन्तर्गत अनुदान मार्फत लगानी गरिएको सामुहीक खेती वेवारीसे बन्न पुगेको हो ।

कृषकको जीवन स्तर सुधार गर्न आधुनिक प्रविधि सहित सामुहिक खेति अवधारणाका लागि सो अयोजनामा कृषि औजारमा मात्रै सरकारले २ करोडको हाराहारीमा लगानी गरेको थियो । सवै निकायबाट साँढे चार करोडको अनुदानमा सूर्योदय कृषि सहकारी मार्फत भएको काम अन्तत स्याङ्जाका राम केसीलाई ३७ लाख रूपैयाँमा ठेक्कामा दिएको छ ।
२०७५ सालमा स्थापना भएको यस सामूहिक खेतीमा ८५ जना कृषक आबद्ध थिए । सय बिगाहा क्षेत्रफलमा सामूहिक रूपमा खेती थालिएको थियो । समुह मार्फत सञ्चालन गर्न कठिनाई भएपछि कृषिमा अनुभव भएका व्यक्तीलाई खेती गर्न दिइएको सूर्योदय कृषि सहकारीका प्रवर्धक शिवजी गायक बताउदै आउनुभएको छ । किसानहरूले लगानी गर्न नसक्ने र राज्यले अनुदानमा निरन्तरता नदिने भएका कारण ऋणमा डुब्दै गएको कारण यतिकै छोड्नुभन्दा अनुभवी व्यक्तिलाई सञ्चाल गर्न दिएको गायकले बताउनुभएको छ ।
सामूहिक खेती प्रवर्धन कार्यक्रम अन्तर्गत चार कोठे ४४ वटा घर पनि निर्माण भएका थिए । यसमा सरकारको ५० प्रतिशत अनुदान छ तर कृषि औजारमा वाग्मती प्रदेशको ८५ प्रतिशतसम्म अनुदान रहेको थियो ।
सामुहीक खेती अन्तर्गत सरकारले गोदाम घर, मेसिन राख्ने केयर हाउस, सय वटा गाई, भैंसी अट्ने गोठ, दुईवटा टनेल, दुई वटा ट्रयाक्टर, एक वटा कम्बाइन हार्बेस्टर, तीन वटा थ्रेसर, तीन वटा रिपर, गरा सम्माउने मेसिन, रोटा भेटर, हाइरो, धान काट्ने मेसिन, कल्टीलगायतका कृषि औजार दिएको थियो । यी सवै सामान अहिले व्यक्तिलाई नै सञ्चालन गर्न दिइएको छ ।

