काठमाण्डौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले किसानलाई सरकारले अनुदान दिनैपर्ने बताउनुभएको छ ।
बुधवार माइतीघर मण्डलामा उखु किसानले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुग्नुभएका अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले उखुलगायतका किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उखुलगायतका किसानले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेर हाम्रो कृषि, अर्थतन्त्र पूरै धराशायी भएको छ । लाखौँ मानिस विदेश पलायन हुन बाध्य भएका छन् । हामी हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ, यस्तो स्थितिमा राज्यले किसानलाई अनुदान दिनैपर्छ ।’
अध्यक्ष भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उहाँको भनाइ छ ।

