चितवन । चितवनको भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ । भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गरिएको हो ।
महानगरपालिकाले प्रतिकिलो ३० रुपैयाँका दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दहालले कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यान्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जानेबताउनुभयो । कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाइ र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताउनुभयो। भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यान्त्रिकीकरणलाई जोड दिई प्रतिफल पनि प्राप्त गर्न सफल भएको उहाँले बताउनुभयो ।

