चितवन। चितवनमा गर्मी बढेका कारण कुखुराको उत्पादन घटेको छ । गर्मीका कारण कुखुराको उत्पादन घटन् थालेपछि कुखुरा पालन व्यवसाय गर्ने किसानहरु चिन्तित बनेका छन् । आर्थिक मन्दीसँगै कुखुराको उत्पादन लागत बढिरहेको समयमा गर्मी महिनामा कुखुरा पालनको लागि उपयुक्त नहुने भएकोले उत्पादन घट्न गएको हो । उत्पादन घटेसँगै चितवनका कुखुरापालक किसान थप समस्यामा परेका हुन् ।अहिले कुखुराको मासुको खपत दैनिक ५ लाख केजी भन्दा बढी छ । सामान्य समयमा दैनिक ८ लाख केजी मासु खपत हुने गरेको तथ्याँक रहेको छ ।
उत्पादन घटेसँगै बजारमा कुखुराको मासुको मूल्य केही बढ्न गएको छ । अहिले होलसेल मासु पसलमा कुखुराको मासुको मूल्य प्रतिकेजी ३९० देखि ४०० रुपैयाँसम्म रहेको छ । चैत महिनाभरी मूल्य घट्दै गएर जिउँदो कुखुराको मासु प्रतिकेजी २०० रुपैयाँमा आइपुगेको थियो । अहिले मूल्य केही बढेर जिउँदो कुखुरा प्रतिकेजी २५० देखि २६० रुपैयाँ निर्धारण भएको छ । त्यो पनि खरिद गर्नेहरुले कुखुराको साइज हेरेर मूल्य दिने गरेका छन् । सानो आकारको कुखुरा व्यवसायीले किसानसँग बार्गेनिङ गरेर उठाउने गरेको सिनजी मिट भरतपुरका सञ्चालक सुमन जोशीले जानकारी दिए ।
आर्थिक मन्दी, बैँकको बढ्दो ब्याजदरसँगै कुखुरा पाल्ने किसानहरु हरेक दिन समस्यामा पर्दे गएको व्यवसायी बताउँछन् । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले कुखुरा पाल्ने किसानहरु तनावको अवस्थामा रहेको बताए । उनले किसानहरु मर्कामा पर्न थालेपछि कतिपयले व्यवसाय नै छाडेको बताए । किसानलाई नाफा हुनको लागि त जिउँदो कुखुराको मूल्य २५० र अण्डा प्रतिक्रेट ४०० रुपैयाँ भन्दा बढी हुनुपर्ने उनले बताए । बिचौलियाको कारणले किसानले उत्पादन लागत पनि उठाउन नसकेको उनको गुनासो छ ।
विशेष त गर्मीमा कुखुराको तौल कम हुने र कुुखुराले दाना नखाने जस्ता समस्या देखिन्छ । गर्मीको कारणले विभिन्न रोगको प्रकोप फैलनुका साथै कुखुराको ढुवानी गर्दा पनि समस्या हुने व्यवसायी सुमन जोशीले जानकारी गराए । गत महिना भारतबाट उलेख्य रुपमा कुखुरा तस्करी भएर आउँदा स्वदेशी उत्पादनको मूल्य झनै घट्दै गएको थियो । केही दिनयता मौसमी असन्तुलनले गर्दा चितवनसहित देशभरका उत्पादन भएका कुखुराहरु मर्न थालेका छन् । यसले गर्दा पर्याप्त उत्पादन हुन सकेको छैन ।

