काठमाडौँ । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आजदेखि लागू हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको छ । आजदेखि जिउँदो बोइलर कुखुराको मूल्य २ सय ८० रुपैयाँ प्रतिकिलो कायम भएको संघका सचिव देव गिरीले बताएका छन् । अब जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २ सय ८० रुपैयाँ कायम भएको छ ।
हाल ४ सय २० रुपैयाँ औषत रहेको तयारी मासुको मूल्य अब ३ सय ८० रुपैयाँ हाराहारी रहने बताइएको छ । स्वदेशमा धेरै उत्पादन भएको र खपत कम भएका कारण नभई भारतबाट अवैध मासु र चल्ला आयात भएका कारण मासुको मूल्य सस्तो भएको व्यवसायीहरू बताउँछन् ।
पशु क्वारेन्टाइन भैरहवा, रूपन्देहीले चालू आर्थिक वर्षमा भन्सार छलिगरी ल्याइएका झण्डै २० हजार वटा चल्ला र व्रोइलर कुखुराहरू नष्ट गरेको जनाएको छ । ब्रोइलर कुखुराको चल्ला बेलहियाबाट ६ हजार ४ सय ३२, कृष्णनगरबाट ४ हजार ७ सय गरी जम्मा ११ हजार १ सय ३२ तथा ब्रोइलर कुखुरा बेलहियाबाट ५ हजार ४ सय ५०, महेशपुरबाट २ हजार ६ सय ८७ र कृष्णनगरबाट ६ सय १७ गरी ८ हजार ७ सय ५४ नष्ट गरिएको पशु क्वारेन्टाइनले जनाएको छ । त्यसैगरी कुखुराको मासु ५ सय ८० केजी पनि नष्ट गरिएको सो कार्यालयले जानकारी दिएको छ । हलोखवरबाट

