मजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको साटो फूल, मालाको प्रयोग गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले सरकारी तथा सार्वजनिक सभा, सम्मेलन तथा कार्यक्रममा खादा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । अब खादाको साटो स्थानीय स्तरमै उत्पादित फूल, मालाको प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
स्थानीय उत्पादित वस्तु तथा सेवाको प्रवर्द्धन, विविधीकरण तथा बजारीकरण र वातावरणीय प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले पालिकाभित्र खादाको प्रयोगमा प्रतिबन्ध लगाइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । तर अति आवश्यक धार्मिक कार्यक्रममा भने प्रयोगमा छुट दिइएको छ ।
गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै यो निर्णय कार्यान्वयन गर्न सरोकारवाला सबैमा अपिल गरेको छ ।
गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित फूलको प्रयोग गरी यसको बिक्री–वितरण तथा बजारीकरण गरी आय–आर्जन वृद्धि र स्थानीय उत्पादनमा प्रोत्साहन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाको यस निर्णयले स्थानीय फूल उत्पादक किसानहरूमा खुसी छाएको छ ।

