चितवन । चितवनमा लगाइएको धानवालीमा विभिन्न रोग देखिएको छ । धानमा रोग देखिएपछि यहाँका किसान चिन्तित बनेकाछन् । आफुले खेती गरेको धानमा रोग देखिएपछि प्राविधिक सल्लाहा लिन कृषि प्राविधिकसम्म पुग्ने कृषकको संख्या बढ्दै गएको छ ।
जिल्लामा रहेका पालिक स्तरका कृषि शाखामा कृषकहरु धानमा लागेको रोगको समाधान खोज्न पुग्ने गरेकाछन् । जिल्लामा रहेको कृषि ज्ञान केन्द्रमा पनि कृषकहरु समस्या लिएर पुग्ने गरेकाछन् ।
धानवालीमा समयमै युरिया र पोटास मल प्रयोग गर्न नसक्दा धानवालीमा समस्या देखिएको कृषकहरुको वुझाई छ । युरिया र पोटासको कमी भएका कारण धानमा पहेंले रोग लागेको कृषकहरु बताउछन् ।
रोगको मात्र नभइ किराको पनि प्रकोप बढेको कृषकहरु बताउछन् । किसानको बारीमा अहिलेको धानमा शित व्लाइट (पातको फेद डडुवा), नेक व्लाष्ट (घाँटी मरुवा), ह्वाइट फ्लाइ (सेतो झिङ्गा), युरिया र पोटासको कमीका कारण पहेँलो हुने समस्या र धानमा दाना नलाग्ने समस्या देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कृषि ज्ञान केन्द्र चितवनमा दैनिक १० हाराहारी किसान समस्या लिएर आउने गरेका ज्ञान केन्द्रकी अधिकृत सुरुची त्रिपाठीले बताउनुभएको छ । धान खेती गरिएको २२ हजार नौ सय ७७ हेक्टर क्षेत्रफलमध्ये ४० प्रतिशत क्षेत्रफलमा रोगको समस्या देखिएको केन्द्रले बताएको छ । शित व्लाष्ट रोग मौसमका कारण जमिनमा हावा खेल्न नपाउँदा ढुसी लागेर हुने गर्दछ । नेक व्लाष्ट रोग मौसम अनुकूल भएर बीउमा हुने रोगको सङ्क्रमण भएको कृषि प्राविधकहरुले बताउदै आएकाछन् ।
सेतो झिङ्गा जिल्लामा बढी संख्यामा सावित्री धानमा देखिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो समस्या कृषकको धानमा विगत एक महिनादेखि देखिन थालेको हो । प्राविधिकको सल्लाहबमोजिम औषधिको प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ ।

