काठमाण्डाै । सुनसरीमा रहेकाे एक सहकारी संस्थाका सञ्चालक ४० लाख रुपैयाँभन्दा बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ । भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पैसा लिएर फरार भएपछि बचतकर्ताहरु आन्दाेलनमा उत्रिएका छन् ।
४ वर्ष बित्दासमेत बचत गरेकाे रकम सहकारीबाट फिर्ता नपाएको भन्दै बचतकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा धाउँदै हैरान भएपछि सडक आन्दोलनमा उत्रिएकाे उनीहरुले बताएका छन् ।
आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रदर्शन समेत गरेका छन् । उनीहरुले सहकारीका सञ्चालक ३ सयभन्दा बढी बचतकर्ताको रकम लिएर फरार भएको आरोप लगाएका छन् । पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन् ।

