के हो बर्ड फ्लू ?
इन्फ्लूएन्जा भाइरसको कारण चराहरूमा फैलिने उभिएन इन्फ्लूएन्जा नामक सङ्क्रामक महामारी हो बर्ड फ्लू । इन्फ्लुएन्जा भाइरसका तीन समूह हुन्छन् जसमध्ये समूह ‘ए’मा पर्ने भाइरसको संक्रमणबाट चराहरूमा फैलिने महामारी रोगलाई बर्ड फ्लू भन्ने गरिन्छ ।
जङ्गली चराहरू त्यसमा पनि विशेष गरी सीमसारतिर बस्ने चराहरूमा यो भाइरस पाइन्छ । यसको सङ्क्रमण भने सबै प्रजातिका चराहरूलाई हुने गर्छ । जङ्गली चराहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो हुने भएकाले यस भाइरसले घर पालुवा पक्षीजस्तो तिनीहरूलाई थला पार्न सक्दैन । त्यस्ता चराहरूमध्ये पनि विशेष गरेर जङ्गली हाँसमा यो भाइरसलाई प्रतिरोध गर्ने क्षमता निक्कै बढी हुने गरेको पाइन्छ ।
यस भाइरसको सङ्क्रमणले कुखुरा, टर्की, हाँस जस्ता घरपालुवा चराहरूलाई भने निकै असर पु–याउँछ । जसको परिणामस्वरूप घरपालुवा चराहरूमा छिट्टै नै यसको सङ्क्रमणले महामारीको रूप लिन पुग्छ ।
रोगको लक्षण
कुखुरामा बर्ड फ्लूको सङ्क्रमण थाहा पाउने पहिलो विधि हो― र्यापिड टेस्ट। यो टेस्टको सुविधा विभिन्न क्षेत्रमा अवस्थित क्षेत्रीय प्रयोगशालामा छ। पोल्टी फार्म वा घरमा पालिएका कुखुरामा र्याल–सिंगान काढ्ने, लोती सुन्निने, लोती र सिउर हरियो हुने, डाइरिया हुने लक्षण देखा परी अप्रत्यासित रूपमा कुखुरा मर्न थाले भने पशु चिकित्सक वा प्राविधिकहरूलाई खबर गरिहाल्नु पर्दछ। मरेका कुखुरालाई नाङ्गो हातले छुनु हुँदैन, खोरमा जाँदा माक्स र ग्लोबहरू लगाएर जानुपर्दछ र फर्केपछि राम्ररी साबुनपानीले हात धुनुपर्दछ। कुखुराबाट अत्यन्त चाँडो मान्छेमा सर्न सक्ने भएकाले यो मानव स्वास्थ्यका लागि पनि खतरापूर्ण छर तत्काल नियन्त्रण गरिएन भने महामारीको रुप लिनसक्छ।
बर्डफ्लू फैलन नदिन के गर्ने ?
– घरपालुवा पन्छी हाँस, कुखुरा आदीलाई जङ्गली तथा अन्य चराहरूको सम्पर्कमा आउन नदिने
– सम्पूर्ण पन्छी पालक किसानहरूले फार्म परिसरमा नियमित रूपमा नि सङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने
– पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाण पत्र लिएर मात्र गराउने
– कुनै पनि पक्षी फार्म वा अन्य पक्षी पालन वा अस्वाभाविक रूपमा पक्षी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवा निकायमा जानकारी गराउने
– फार्म नजिक जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्ने
– खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने
– काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जाने
– चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्ने
– व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार नगर्ने

