चितवन । चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखिएको खोरका कुखुरा नष्ट गरिएको छ । राप्ती नगरपालिका वडा नम्वर ६ स्थित एक किसानको लेयर्स कुखुराको फर्ममा बर्डफ्लू देखिएको थियो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको थियो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनका निमित्त प्रमुख डा प्रभात न्यौपानेले बर्डफ्लू देखिएको खोरका सवै कुखुरा नष्ट गरिएको र वरपरको परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको जानकारी दिनुभयो । बर्डफ्लू पुष्टी भएको खोरमा रहेका एक हजार ९ सय १३ वटा लेयर्स कुखुरा नष्ट गरिएको डा न्यौपानेले बताउनुभयो । एक हजार किलोग्राम दाना,३५० वटा अण्डाका क्रेट,१४ वटा हाँस र २० वटा अण्डा नष्ट गरिएको उहाँले बताउनुभयो ।
बर्डफ्लू देखिएको खोर वरपर रहेका अन्य क्षेत्रवाट परिक्षणका लागि नमुना पठाइएको र ति नमुना सवैमा बर्डफ्लू नदेखिएको डा न्यौपानेले किसानपाटी अनलाईनलाई जानकारी दिनुभएको छ ।
चितवनमा बर्डफ्लू देखिएको पुष्टि भएपछि बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनकोे बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाएको थियो । परिक्षणको क्रममा बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको थियो । बर्डफ्लू देखिएको फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा समेत रोक लगाउदै शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको थियो ।

