चितवन । चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू देखिएको छ । राप्ती नगरपालिका वडा नम्वर ६ स्थित एक किसानको लेयर्स कुखुराको फर्ममा बर्डफ्लू देखिएको हो । गत माघ २५ गते नमूना परीक्षण गरिएकोमा २७ गते बर्डफ्लू पुष्टि भएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र चितवनले पनि चितवनमा बर्डफ्लू देखिएको पुष्टि गरेको थियो । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको आज बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाएको छ ।
राप्ती नगरपालिका क्षेत्रमा पर्ने एउटा फर्ममा बर्डफ्लू देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनु भयो । बर्डफ्लू देखिएको फर्मको एक सय मिटर वरपरका पक्षी नष्ट गर्ने काम सुरु गरिएको छ । सो फर्मका करिब २ हजार कुखुरा नष्ट गरिदैछ ।
परिक्षणको क्रममा बर्डफ्लूको एचपाइभ एनवान सङ्क्रमण देखिएको हो । बर्डफ्लू देखिएको फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइएको बताउदै प्रमुख जिल्ला अधिकारी तामाङले शङ्कास्पद फर्महरुको नमूना सङ्कलन गरी परीक्षण गरिने बताउनुभएको छ ।

