काठमाडौँ । भूमि व्यवस्था कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशले कृषि ऋणमा ब्याज अनुदान दिने भएको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त बैंक वा सहकारी संस्थाबाट कृषि ऋण स्वीकृत भई व्यवसाय संचालन गरिरहेका ब्याजमा अनुदान प्राप्त गर्न इच्छुक कृषक, निजी र्फाम, कम्पनी, कृषक समूह तथा कृषि सहकारीहरुलाई प्रस्ताव पेस गर्न आग्रह गरिएको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालय वा जिल्ला स्तरमा रहेका कृषि ज्ञान केन्द्र वा पशु सेवा विज्ञ केन्द्रमा आवश्यक कागजात संकलन गरी प्रस्ताव पेस गर्न भनेको हो ।
अधिकतम ११ प्रतिशत ब्याजदरमा कम्तीमा ५ लाख कृषि ऋण स्वीकृत भएको हुनु पर्ने तथा स्वीकृत कृषि ऋणका लागि अन्य कुनै निकायबाट ब्याज अनुदान प्राप्त नगरेको हुनु पर्ने पनि सूचनामा जनाइएको छ । प्रदेश सरकारबाट अनुदानका धेरै जसो कार्यक्रमहरू कटौती भएकाले कृषि ऋणमा ब्याज अनुदान कार्यक्रम ल्याइएको पनि मन्त्रालयले जनाएको छ ।

